[जनार्जन पौडेल]आज विश्वभर १०९ औ अन्तराष्ट्रिय नारी दिवस मनाइदैछ । ‘लैङ्गिक  समानताका लागि समान सोच र व्यवहार : समृद्यिको आधार’ भन्ने मुल नारा तय गरेर नेपालमा पनि विभिन्न तामझामका साथ नारी दिवस मनाउने काम तय भएको छ । राज्य स्तर र नागरिक स्तरमै नारी दिवसको रौनकता बढी रहेको छ । तर यतिधेरै प्रयाशहरु गरिरहदा पनि नारी दिवस मात्र औपचारीकतामा सीमित रहेको जानफकारहरु बताउदछन् । नारी उत्थान र हक हितका चर्का नारा लगाएपनि नारीका दुख,पीडा र व्यथा भने पहिले जस्तै रहेको विश्लेषकहरु बताउछन् । कतै दाइजो नल्याएको निहुँमा, कतै छाउपडीका नाममा, कतै कमैयाका नाममा ,कतै बादीका नाममा अनि कतै बोक्सीको आरोपमा त कतै दलितका नाममा अहिले पनि नारी हिंसा व्याप्त छ । एउटी नारी भएकै कारण गर्भमै तुहाउने देखि बलात्कारसम्मको शिकार भइरहेका छन  । त्यसैले जवसम्म महिला हिंसालाइ समाजबाटै निर्मुल पार्न सकिन्न तवसम्म खोक्रो आडम्वर र भाषणवाजी गरेर नारी दिवस मनाउनुको कुनै अर्थ रहन्न ।

एकैछिन शास्त्रका कुरा गर्रौ : शास्त्रमा भनिएको छ “यत्र नायौ प्रपुज्यन्ते रमन्ते तत्र देवता” जहाँ नारीहरुको पुजा अर्थात सम्मान हुन्छ त्यहाँ देबताहरु पनि खुशि हुन्छन । तर शास्त्रको गलत ब्याख्या गर्नैहरुले भने भगवान विष्णुलाई लक्ष्मीले पाउ दवाइरहेको चित्र कोरीदिए । यस बाट के बुझ्न सकिन्छ भने महिला हिंसा को शुरुवात सदियौ देखि भएको थियो । बेद पुराणमा बताइए अनुसार वैद्धिक कालमा नारीको धेरै इज्ज्त गरिन्थ्यो नारीलाई उच्च सम्मान गरिन्थ्यो भन्ने कुराका विभिन्न उदाहरणहरु पाइन्छन् । तर कलियुगका वेदव्यासहरुले शास्त्रलाई नै यतिधेरै बङ्गयाइदिए की रामायणका मर्यादा पुरुषोतम रामले समेत आफ्नी प्राणप्यारी सीतालाई रावणकहाँवाट फर्काएर ल्याउदा अग्नी परिक्षा दिनुपर्योे रे । के सीतामाताले साँच्चै आफ्नो पवित्रता र स्वछताको परीक्षा दिनु परेको थियो त ? यो काम त खाली नारीहरुको पवित्रता माथी प्रश्न गर्ने ठाउँ मात्र राखेका हुन पुरुष प्रधान समाजले । वास्तवमा सत्यता चाहिँ भगवान् राम त्रिकालदर्शी थिए । उनी रावणको वध गर्न नै त्रेता युगमा यस धर्तिमा जन्मेका थिए । उनलाई रावणले सीतालाई हरेर लान्छ भन्ने कुराको पहिल्यै ज्ञात थियो । तसर्थ उनले पहिलै नै सक्कली सीतालाई अग्नी देवताको जिम्मा लगाएर मायाले अर्कै नक्कली सीता बनाएर राखेका थिए । जुन नक्कली सीतालाई रावणले सक्कली सम्झेर हरण गरेर लग्यो । पछि रावणको बध गरि  सम्पूर्ण कार्य सकेपछि अग्नी देवतासंग आफ्नी प्राण प्यारी सीतालाई फिर्ता लिएको कथाको अपब्याख्या गरेका हुन कलियुगका वेदव्यासहरुले । यसकै बहानामा यहाँ हरेकयुगका सीताहरु संग अग्नीपरिक्षा लिन खोजिदैछ । शास्त्रलाई नै वंग्याएर भगवान् रामलाई खल पात्रको रुपमा ब्याख्या गर्नेहरुको पनि यहा कमि छैन ।

इतिहासमै रामलाइ खलपात्रको रुपमा उभ्याउने धृष्टता गर्ने कलियुगका वेदव्यासहरुले बर्तमानमा गरेका कृयाकलापको निन्दा त जति गरेपनि कमै हुन्छ । महिला हिंसा आज विश्वको कुनै पनि समाजको मुख्य चुनौति बनिरहेको छ ।आधुनिकताको बढ्दो परिवेशसंगै पूराना मुल्य र मान्यतामा केहि हद सम्म कमि आएता पनि महिला हिंसाका नयाँ नयाँ तरिका र श्रृखलाले बिश्व समाजलाइ त्रसिद तुल्याएको छ । नेपालकै कुरा गर्ने हो भने नेपालमा पनि महिला हिंसाका नयाँ नयाँ घटनाहरु दिनानुदिन सुन्नमा आइरहेका छन् ।

लैङ्गिक भेदभाव आज पनि समाजका सबै क्षेत्रमा व्याप्त छन । पुरुषले त्यहि काम गर्दा सहि हुने महिलाले गर्दा गलत हुने संस्कार यथावत छ । महिलाहरुले जति अन्याय सहे पनि महिला सहनशिल रे सहनुपर्ने रे । एउटी महिलाले आफुलाई जति गाह्रो भएपनि धर्ति भन्दा पनि सहनशिल वनाउनु पर्ने अनि पुरुषले चाहिँ आप्नो कर्तब्यवाट विमुख भए पनि कसैले प्रश्न खडा नगर्ने ? यो कस्तो पुरुष प्रधान समाज ?आखिर कति दिन चल्छ महिलामाथि पुरुष प्रधान समाजको थिचोमिचो ? एउटा महिला भएर जन्मेको मात्र कारणले समाजवाट महिलाहरु कतिदिन अपहेलित भएर वाच्ने ? महिला अधिकार कर्मीहरुले महिला अधिकारका सवालमा उल्लेख्य भुमिका निर्वाह गर्न नसकेको पो हो कि ? उनीहरुकाा कार्यक्रम व्यवहारिक नभइ नारामा मात्र सिमीत भएको त हैन ? समाजमा नारी हिंसाका जिम्मेवार तत्व वा व्यक्ति को को हुन भनेर जवसम्म केलाइदैन तवसम्म हिंसा हत्या वलात्कारका घटनामा कहिल्यै कमी हुन्न ।

नेपाली समाजमा सदियौ देखि जरा गाडेर बसेको पितृसतात्मक सोच नै नारी हिंसाको प्रमुख कारकतत्व हो भन्ने कुरामा शायदै कसैको दुइमत रहला । हिजो आज दिनभरी नारी हक हितका बिषयमा चर्का भाषण गर्ने र घरमा आफैले हिसा गर्ने पुरुषहरुको पनि कमि छैन । उदाहरणको लागी दिनभरि अफिसको काम गरेर घर फर्केका नारी पुरुष अर्थात श्रीमान् /श्रीमती मध्ये श्रीमान अफिसवाट फर्केपछि लमतन्न परेर सोफामा सुत्छ श्रीमतीले चाहि जतिसुकै थकाई लागे पनि भान्छामा गएर खाना बनाउन वाध्य हुन्छिन । भोली पल्ट बिहान उठ्दा पनि श्रीमान जुरुक्क उठेर मुखै नधोई पत्रिका पढ्न थाल्छन अनि घरधन्दा गर्न लागेकी श्रीमतीलाई भन्न थाल्छ “लौ लौ छिट्टै एककप वेड टि लेराऊ” ।भोलीपल्ट बिहान पनि श्रीमती उठेर घर दैलो सफा गर्ने, खाना वनाउने देखि लिएर केटाकेटीलाई स्कुल पु–याउने तयार गर्न समेत सबै काम गर्छिन पुरुष चाहि बिहानभरी सुतेर दुख गरेर पकाएको खाना पनि नमिठो भयो भनेर कम्प्लेन गर्न समेत पछि पर्दैन । श्रीमती कार्यालयमा जति सुकै ठुलो पदमा कार्यरत भएपनि घरमा चाहिं बिहान श्रीमानले पत्रिका नपढी पढ्ने अधिकार समेत हुन्न । यो पनि एक किसिमको महिला हिंसा हैन र ?

आज मार्च ८ अन्तराष्ट्रिय नारी दिवस मनाइदैछ । जसका लागि बिभिन्न सरकारी तथा गैह्रसरकारी स्तरमा बिभिन्न खाले कार्यक्रम समेत तय गरिएको छ । भव्य तरिकाले तामझामका साथ नारी दिवस मनाइरहदा महिला हिंसाको अन्त्यको लागि सर्वप्रथम चेतनाको विकाश नै मुख्य कुरा हो । बर्षमा एकदिन नारी दिवस मनाएर पुरुषहरुका अगाडि भाषण छाटेर मात्र केही हुनेवाला छैन सवैले आ –आफ्नो घरमा नारीमैत्री वातावरण निर्माण गरेमा मात्र नारीको सम्मान हुन्छ । तसर्थ देखावटीमा हैन व्यवहारमा नारीलाइ सम्मान गरौं । अन्तराष्ट्रिय नारी दिवसले पनि यहि सन्देश दिन सफल होस हार्दिक शुभकामना ।

 

तपाईंको प्रतिकृया