सल्यान । कुमाख गाउँपालिका–७ जिमालीमा रहेको विर्केनेटी आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर कस्तो हुन्छ देखेका छैनन् । तर, उनले यो विषयको परीक्षा दिन थालेको तीन वर्ष भयो । ‘खै अहिलेसम्म कम्प्युटर कस्तो हुन्छ देखेको छैन’, उनले भने, ‘किताब मात्रै पढ्दा के पढ्यो–पढ्यो केही थाहा हँुदैन ।’ यसरी दुखेसो पोख्ने उनी एक्ला विद्यार्थी भने होइनन् । कम्प्युटर नदेखीकनै परीक्षा दिने उनी जस्ता जिल्लाका दुई सय बढी विद्यालयका अधिकांश विद्यार्थी छन् ।

सरकारले कक्षा ६ देखि ८ सम्म १०० पूर्णांकको मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय राख्न सकिने गरी साप्ताहिक रूपमा पाठ्यभार ५ छुट्याएको छ । यसैअन्तर्गत सल्यान जिल्लामा रहेका झन्डै शत प्रतिशत विद्यालयहरूले ऐच्छिक विषयमा कम्प्युटर नै राखेका छन् । तर, कम्प्युटर पढाउने विद्यालयमध्ये माध्यमिक विद्यालय सञ्चालन नभएका विद्यालयका अधिकांश विद्यार्थीले कम्प्युटर देखेकै छैनन् । २०७० सालदेखि आपूmहरूले विद्यालयमा कम्प्युटर विषय पढाउन थालेको कुमाख गाउँपालिकाको आधारभूत विद्यालय विर्केनेटी जिमालीका प्रधानाध्यापक डिल्लीबहादुर बुढाथोकीले बताए । जिल्लामा १ देखि ८ कक्षासम्म चलेका डेढ सय बढी विद्यालय छन् भने माध्यमिक विद्यालय झन्डै १ सयको हाराहारीमा छन् । पाठ्यक्रमअनुसार कम्प्युटर विषयको परीक्षामा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक बनाउनुपर्ने व्यवस्था छ । कम्प्युटर सैद्धान्तिकभन्दा पनि बढी प्राविधिक कुरा भएकोले कम्प्युटर हुनुपर्नेमा विद्यार्थी विनाकम्प्युटर अध्ययन गराइरहेको छ । तर, विद्यालयलाई दुई प्रकारको समस्या रहेको छ, एक त कम्प्युटर नै छैन भने अर्को विद्युत्को समस्या रहने गरेको छ । जनजागृत आधारभूत विद्यालय दार्मा पुखातका प्रधानाध्यापक कमल चन्दले भने, ‘विद्यार्थीसँग कम्प्युटर विषयको परीक्षा कम्प्युटर नदेखेरै दिनुपर्ने बाध्यता छ ।’

जिल्लाभरीका विद्यालयहरू न त कसैले मातृभाषाको पाठ्यक्रम बनाएका छन् न त स्थानीय विषय वा संस्कृत विषय छ, चन्दले भने विनास्रोत साधन कम्प्युटर विषय सञ्चालन गर्नुपरेको छ । आधारभूत तहको शिक्षासम्बन्धी अधिकांश जिम्मेवारी स्थानीय तहमा रहेको अवस्थामा स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम तयार गरी लागू गर्न सकेका छैनन् । यसका लागि स्थानीय तहहरूले अगुवाइ गरेर स्थानीय विषयको पाठ्यक्रम तय गरेर लागू गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख लीलाधर बवालले बताए । विद्यालयहरूले विनापूर्वाधार कम्प्युटर विषय पठाउनु गलत भएको उनको भनाइ छ ।

विद्यार्थीको पढाइ विकासका लागि कम्प्युटर विषय राख्नु राम्रो हो तर हचुवाको भरमा राख्दा यसले विद्यार्थीको भविष्यमाथि खेलवाड हुने इकाइ प्रमुख बवालले बताए । उनले भने, ‘कि त विद्यार्थीले बुझ्ने गरी पढाउनुप¥यो कि त पाठ्यक्रमले तोके अनुसारका विषयहरू राख्नुप¥यो ।’ राम्रो गर्ने विद्यालयले आफँै अगुवाइ दिनुपर्ने र स्थानीय तहले पनि नीतिगत अगुवाइ लिनुपर्ने उनले बताए । विद्यार्थीले त कम्प्युटर देखेका छैनन् तर शिक्षकहरूले पनि तालिमबिनै हचुवाको भरका सिकाइरहेका छन् । आधारभूत विद्यालय विर्केनेटीका शिक्षक वेलाराम डिसीले भने मोबाइलबाट कम्प्युटरको फोटो देखाएर पढाउने गरेको बताए ।

जिल्लाका माध्यमिक तहका विद्यालयमा सोलार र कम्प्युटर छन् तर धेरै विद्यालयमा ती पनि प्रयोगविहीन छन् । माध्यमिक तहमा कम्प्युटर भएका विद्यालयमा समेत प्रयोगात्मक पढाइ नहुने गरेको विद्यार्थीको गुनासो छ । विद्यालयमा रहेका कम्प्युटर विद्यालयको प्रशासनिक काममा मात्रै प्रयोग हुन्छन् । राष्ट्रिय मावि दार्मा १ दार्माकोटका एक विद्यार्थीले भने, ‘सोलारको काम भनेको सरहरूका मोबाइल चार्ज गर्ने मात्रै हुन्छ ।’ बनगाड कुपिण्डे नगरपालिकाको त्रिभुवन जनता माविका प्रधानाध्यापक गुमान सिंह विष्टले भोल्टेज नपुग्दा भनेअनुसार विद्यालयमा कम्प्युटर सिकाउन नसकेको बताए ।

तपाईंको प्रतिकृया