१४ फागुन, काठमाडौं । स्वास्थ्य विमालाई देशब्यापी विस्तार गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेकपा सांसद खगराज अधिकारीले प्रस्ताव प्रस्तुत गर्दै सबै जिल्लामा स्वास्थ्य विमाको कार्यक्रम विस्तार गर्नुपर्ने बताएका हुन् । स्वास्थ्य विमा कार्यक्रम हाल ३९ जिल्लामा लागू गरिएको छ । स्वास्थ्य विमामार्फत स्तरीय स्वास्थ्य सेवा दिन जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने उल्लेख गर्दै अधिकारीले १४ सय डाक्टरले जनतालाई गुणस्तरीय सेवा दिन अप्ठेरो हुने बताए ।

सांसद अधिकारीले गुणस्तरीय औषधी, उपकरण र जनशक्तिको प्रवन्ध गरी ७ वटै प्रदेशमा आईसीयू सुविधासहितको अस्पताल सञ्चालन गर्न आवश्यक रहेको पनि बताए । एमबीबीएसको अध्ययन शुल्क सरकारले ४२ लाख तोकेकोमा मेडिकल कलेजहरुले ५२ लाखसम्म शुल्क लिइरहेको भन्दै उनले नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । अधिकारीको प्रस्तावमा समर्थन जनाउँदै सांसद अञ्जना विशंखेले स्वास्थ्य मन्त्रालयबाट तिव्र गतिमा अस्पताल खोल्ने कार्य भइरहेको तर जनशक्तिमा ध्यान नदिइएको पाइएको उनको भनाइ छ । उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओएनएम सर्वे नै नगरी कर्मचारी भर्ना गर्न कार्य भइरहेको पाइएको बताइन । उक्त प्रतिष्ठानमा प्रतिष्ठान बनेपछि मातृशिशु जस्ता सुविधाहरु कटाइएको उल्लख गरिन् । सांसद मनकुमारी जिसीले जनताको नैसर्गिक अधिकारका रुपमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन ।

‘स्वास्थ्य विमा कार्यान्वयनमा चुनौती देखियो’

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले स्वास्थ्य विमा कार्यक्रम कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । स्वास्थ्य विमामा सहभागी भएकाले नवीकरण नगर्ने, विपन्न वर्गले विमाको प्रिमियमसमेत तिर्न नसक्ने भन्दै कतिपय सांसदले विमा कार्यक्रमबारे थप प्रष्टता आवश्यक रहेको धारणा राखे । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले स्वास्थ्य विमामा सहभागी भएकाहरुले निरन्तर नवीकरण गर्ने र विमाको प्रिमियम तिर्न नसक्ने भन्दै विपन्नलाई सहुलियत दिनुपर्ने बताइन् ।

नेकपाकी सांसद रामकुमार झाँक्रीले स्वास्थ्य विमाका नाममा व्यापार समेत हुने गरेको भन्दै त्यस्तो व्यापार रोक्न माग गरिन् । उनले वार्षिक २५ सय रुपैयाँको प्रिमियम लिनु विपन्न वर्गलाई न्यायोचित नरहेको बताइन् । सांसद डिला संग्रौलाले गरिबको मापन कसरी गर्ने ? भन्दै प्रश्न गरिन् । अस्पतालहरुले उपकरण, दक्ष जनशक्ति छैन भनेर गुनासो गरिरहेको अवस्थामा सरकारले त्यस्ता समस्याहरु समाधानका लागि ध्यान दिनुपर्ने उनले बताइन् । सांसद दिव्यमणि राजभण्डारीले स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने बताए ।

संसदमा नख्खु बम बिस्फोटको विषय

मंगलबारको बैठकको शून्य समयमा सत्तारुढ नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले नख्खुस्थित एनसेलको मुख्यालयमा भएको बम विस्फोटको विषय उठाइन् । उनले उक्त घटनामा संलग्न समूह राजनीतिक हो भने वाता गरेर समस्या समाधान गर्न माग गरिन् । ‘छापामा आए अनुसार आफ्नो कार्यलय परिसरमा राखिएको संकास्पद वस्तु व्यस्त बाटोमा फाल्ने जो दुस्कर्म एनसेल कार्यलयबाट भएको छ’, उनले भनिन्, ‘त्यो कति सत्य हो छानविन गरेर ऐनसेललाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने भन्ने लाग्छ ।, नेकपाकी सांसद सांसद विमला विकले वर्दियामा १९ वर्षीय किशोरी र ६ वर्षीय वालिका वतात्कृत भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद मायादेवी न्यौपानेले केन्द्रीय कारागारमा रहेका कैदी बन्दीहरूले बुनेका लाखौं रुपैयाँ पर्ने कपडा अलपत्र अवस्थामा रहेको उल्लेख गरिन् ।

तपाईंको प्रतिकृया