डडेल्धुरा
अविरल वर्षासँगै भारी हिमपात भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका बासिन्दाहरूको जनजीवन प्रभावित भएको छ। सोमबार बेलुकीदेखि अविरल वर्षा भएसँगै मंगलबार बिहान २ बजेदेखि डडेल्धुरा सदरमुकामसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भएको छ। महाभारत पर्वत शृंखलामा भएको भारी हिमपातका कारण सोमबारदेखि नै रात्रीकालीन यातयात सेवा प्रभावित भएको र मंगलबारसमेत यातायात सेवा दिनभर प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ।


भीमदत्त राजमार्गको हगुल्टे महाभारत क्षेत्रमा भारी हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको हो। मंगलबार बिहानैदेखि यातायात सेवा सुचारू गर्न पहल गरिएको भए पनि हिमपात जारी रहेकाले यातायात सेवा सुचारू गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। यातायात सेवा प्रभावित हुँदा यात्रुहरूबाटोमै अलपत्र परेका छन्। डडेल्धुरासँगै सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरू बाजुरा, बैतडी, दार्चुला, अछाम, बझाङ र डोटीका विभिन्न पहाडी क्षेत्रमा सोमबार रातीदेखि भारी हिमपात भइरहेको छ। बाजुराको बिच्छ्या, रुगिन, जकोट, मानाको, कैलाशमाडौं छतारा, पाण्डुसैन, दहकोट, आटीचौरलगायत दर्जनभन्दा बढी स्थानमा भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

बाजुराको तापक्रमा ७ डिग्री तल झरेको छ। हिमाली गाउँपालिकाको साबिकको बिच्छ्यामा सबैभन्दा बढी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। यसैगरी अर्को हिमाली जिल्ला बझाङको साइफाल, सुर्मा, छ बीसपाथीभेरा, खप्तड छाना गाउँपालिका, बुंगल नगरपालिकाका विभिन्न स्थानमा हिमपातले असर परेको छ। मंगलबार दिनभर भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ। दार्चुला जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। बैतडीको खोडपे, गोठलापानी, सतबाझलगायतका बजार क्षेत्रमा समेत हिमपात भएको छ। हिमपातसँगै चिसो अत्यधिक बढ्दा जनजीवन प्रभावित बनेको स्थानीयले बताएका छन्। अत्यधिक चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीयवासी बताउँछन्।

तपाईंको प्रतिकृया